पुस २४, २०७२- राष्ट्रिय खेलकुद परिषदले रमेश सिलवालको अध्यक्षतामा क्रिकेट संघ नेपाल (क्यान)को तदर्थ समिति गठन गरेको छ । राखेपले सिलवालको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति बनाएको हो ।
क्यानको तत्कालिन उपाध्यक्ष चतुरबहादुर चन्द समूहको मंसिर २९ गते साधारणसभा गरेको थियो । साधारणसभाले चन्दको अध्यक्षतामा क्यान गठन गरेको थियो ।
राखेपले शुक्रबार बनाएको तदर्थ समितिमा रविन्द्र अधिकारी, शैलेश कर्माचार्य र दीपक साउद उपाध्यक्ष छन् ।
महासचिव पवन अग्रवाल, सचिव पूर्ण लामा तथा सदस्यहरुमा भरत केसी, डा. हरिशंकर शाह, ऋतुसिंह वैद्य, दिवाकर पौडेल, निर्वाण चौधरी, विनायक पोखरेल, सुरेशलाल श्रेष्ठ, रञ्जीत तामाङ र एलबी क्षेत्री छन् ।
तदर्थ समिति बनाएपछि राखेप सदस्यसचिव केशव विष्टले क्रिकेट गतिविधि अगाडि बढाउन गतिविधि नरोक्न, अन्यौलतालाई चिर्न र तीन महिनाभित्र निर्वाचन गर्न नयाँ नेतृत्व समक्षम हुने विश्वास व्यक्त गरे । ‘अन्तर्राष्ट्रिय क्रिकेट परिषदसँग समन्वय गरि तदर्थ समिति बनाइएको हो,’ उनले भने, ‘क्षमतावान आएका छन्, क्रिकेटको भविष्य उज्जवल छ ।’
विष्टले ठूला तीन दलको सहमतिमा क्यान बनाइएको तर पार्टी कार्यकर्ता नराखिएको दाबी गरे । ‘यस अवधिमा बोर्ड पनि गठन गर्न सक्छ,’ उनले भने ।