पर्थ- १०, जनवरी – एनआरएन अष्ट्रेलियाले विराटनगरमा निर्माण गर्न लागेको पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रमको सहयोगार्थ एनआरएन पश्चिम अस्ट्रेलियाले पाथीभरा श्रद्धाश्रमका लागि आयोजना गरिएको फन्डरेजिंग गाला डिनरबाट आइतबार पश्चिम अष्ट्रेलियामा करिब २३ लाख रुपैयाँ संकलन गरिएको छ । पर्थमा बसोबास गर्ने विभिन्न व्यक्तिहरु तथा संग्सस्थाहरुले स्वतस्फुर्त रुपमा सहयोग गरेका थिए। सहयोग गर्ने क्रममा पर्थका व्यवसायी तथा समाजसेवी भैरव ढकालले सर्वाधिक ११ लाख नेपाली रुपैयाँ प्रदान गर्ने घोषणा गर्नु भएको छ ।
परिवारबाट एक्लिएका र सहाराको आवश्यकता भएका जेष्ठ नागरिकहरुको लागि विराटनगर उपमहानगरपालिकामा एनआरएनले निर्माण गर्न लागेको पाथीभरा श्रद्धाश्रमको लागि अर्थसंकलन गर्ने उद्देश्यले यस अघि नै अष्ट्रेलियाको सिड्नी, क्वीन्सल्याण्ड र मेलबर्नमा फन्डरेजिंग डिनर सम्पन्न भई सकेको छ । यसअघि सिड्नीमा १ करोड २५ लाख रुपैयाँ क्वीन्सल्याण्डमा १८ लाख रुपैयाँ र मेलबर्नमा ३६ हजार डलर सहयोग जुटेको थियो ।
कार्यक्रममा बोल्दै व्यवसायी तथा समाजसेवी भैरव ढकालले भन्नु भयो, एनआरएन अष्ट्रेलियाले अभिभावकहरुको सेवा र सम्मानका निम्ति एउटा अभियान सञ्चालन गरेको छ । यो अभियानको नाम पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रम हो । यस श्रद्धाश्रममा रहनुहुने आमाबुबाको लागि उच्चस्तरीय स्याहार, सुसार, माया र सम्मानको योजना बनाएको छ । यो परियोजनामा नेपाल सरकार, स्थानीय निकाय र सर्वसाधारणको समेत सहकार्य रहेको छ ।
कार्यक्रमकै दौरान मा एनआरएन पश्चिम अस्ट्रेलियाका संयोजक राज थपालियाले भन्नुभयो, एन.आर.एन.ए. अस्ट्रेलियाको पहल र बिराटनगर उपमहानगरपालिकाको सहकार्यमा बिराटनगरमा ‘पाथिभरा जेष्ठ नागरिक श्रद्धाश्रम’ निर्माण गर्न थालिएको हो । एनआरएन अष्ट्रेलियाले अभिभावकहरुको सेवा र सम्मानका निम्ति एउटा अभियान सञ्चालन गरेको छ । यो अभियानको नाम पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रम हो २ बर्षअघि निर्माण सुरु भएको उक्त श्रद्धाश्रमका लागि सहयोग जुटाउने उद्देश्यले एनआरएन अष्ट्रेलियाले बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । साथै कार्यक्रममा सहभागी भै सहयोग गर्नुहुने सम्पुर्ण व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरु, कलाकार, भोलेन्टियर तथा सम्पूर्ण एनआरएन पश्चिम अस्ट्रेलियाका टिमलाइ आयोजकको तर्फ बाट संयोजक थपालियाले धन्यवाद समेत दिनुभएको थियो ।
आइतबार साँझ पर्थमा आयोजना गरिएको सो कार्यक्रममा दिपक पराजुलीले पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रमको हालको अवस्था र भाभी योजानाको बारेमा जानकारी दिनु भएको थियो भने कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउन पर्थमा रहेका स्थानीय कलाकारहरले विभिन्न गीत संगीत तथा मनोरञ्जनात्मक नृत्य समेत प्रस्तुत गरेका थिए। साथै मिनाज रेस्टुरेन्ट एण्ड क्याफेले स्वादिस्ट नेपाली परिकारहरु पस्केको थियो। उक्त कार्यक्रमको प्रस्तुती कमल सिलवाल र संगीता बिष्टले गर्नु भएको थियो ।