नमस्ते नेपाल- पर्थ, ३ नभेम्बर २०१६
अस्ट्रेलियाको पर्थमा दुइ साता अघि असामयिक निधन भएका नेपाली बिधार्थी बिराट ताम्राकारको पार्थिव शरीरलाई पर्थमा बौद्ध धर्म अनुसार गुरु गेशे सोनामद्वारा बादो थोटल मंत्र वाचन गरेर श्रद्धान्जली अर्पण गरी चीर आत्माको लागी शान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली तथा शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना प्रकट गरियो। उनको पार्थिव शरिर अन्तिम श्रद्धान्जलीका लागि बेलुका ५ बजेदेखि ७ बजेसम्म पर्थको भिक्टोरिया पार्कमा राखिएको थियो।
श्रद्धान्जलीको क्रममा अस्ट्रेलिया भरि बसोबास गर्ने नेपाली दाजु-भाइ तथा दिदि-बहिनीहरुले यो दुखद घडीमा गरेको सहयोग प्रति नावाका अध्यक्ष श्री आङ दावा शेर्पा तथा एन. आर एन ए वेष्टर्न अष्ट्रेलियाको संयोजक राज थपलियाले सम्पुर्ण सहयोगीप्रति धन्यवाद ज्ञापन गर्नु भयो।श्रद्धान्जली कै क्रममा (Edith Cowan University) ई.सी.यु कि शिक्षिका डाक्टर हाङ्ग भू ले भन्नु भयो हामीले एउटा मेहनती र असल युवा बिधार्थी गुमाउनु पर्यो। बिराटले ऋण खोजेर उच्च शिक्षा पढ्न आएको र परिवारमा ऋणको भार भएकोले हामीले आफ्नो बिधार्थीको सहयोग स्वरूप ३२ हजार जति उठाएका छौ। त्यो पैसाले केहि हदसम्म भए पनि बिराटको परिवारलाई राहत पुग्ने डाक्टर हाङ्ग भूले बताउनु भयो।
अन्तिम श्रद्धाञ्जलिपछि ताम्राकारको पार्थिव शरीरलाई अन्त्येष्टिका लागी शुक्रवार नै नेपाल पठाइने भएको छ ।
नेपालमा काठमाण्डौ नर देवी घर भई झन्डै डेढ वर्ष अघि उच्च शिक्षाको लागी अस्ट्रेलियाको पर्थ आएका २८ बर्षीय बिराट ताम्राकारको दुइ साता अघि पर्थमा असामयिक निधन भएको थियो। रोयल पर्थ हस्पिटलका डाक्टरले प्रारम्भिक जाँचका आधारमा बिराटलाई हार्ट अट्याक भएको अनुमान गरेका थिए।
बिराट पर्थ स्थित ई.सी.यु मा ईन्जिनियरिङ बिषयमा मास्टर डिग्रीको अध्ययन गरिरहेका थिए। उनको डिग्री सकिन केबल अन्तिम सेमेष्टर मात्र बाँकी थियो। बिराट परिवारका एक मात्र छोरा थिए भने हाल उनका माता-पिता र एक बहिनी काठमाण्डौको नरदेवी मै बसोवास गर्दछन ।
परिवारको आर्थिक अवस्था कम्जोर रहेको कारण उनको पार्थिव शरीरलाई नेपाल आफ्नो परिवार सम्म पुर्याउन लाग्ने खर्च उठाउन नेपाली एसोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा) र एन. आर एन ए वेष्टर्न अष्ट्रेलियाले संयुक्त अभियान शुरु गरेका थिए। सो अभियानबाट करिब २५ हजार डलर संकलन भएको थियो। नेपाली एसोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा) र एन. आर एन ए वेष्टर्न अष्ट्रेलियाले नेपाली बिधार्थीको सहयोगको लागी उठाएको यो सहयोग रकम हाल सम्मकै ठुलो रकम हो। बिराटको घरको अवस्था कम्जोर भएको थाहा पाए पछि ई.सी.यु ले करिब ३२ हजार डलर सहयोग उठाएको थियो।
बिराटका परिवारका तर्फबाट उहाका आफन्त प्रमोद तुलाधरले बिराटको शवलाई अन्तिम श्रदान्जली दिनु भएको थियो भने उक्त श्रद्धान्जली कार्यक्रममा भिक्टोरिया पार्क पुगेर नेपाली एसोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा) का अध्यक्ष आङ दावा शेर्पा ,एन. आर एन ए वेष्टर्न अष्ट्रेलियाको संयोजक राज थपलिया, पर्थ नेपाली मन्दिरका अध्यक्ष यादव शर्मा, व्यवसायी तथा समाजसेवी भैरव ढकाल, ई.सी.यु (Edith Cowan University) कि शिक्षिका डाक्टर हाङ्ग भू ,अनेसास पश्चिम अस्ट्रेलिया संयोजक गणेश घिमिरे, पश्चिम अस्ट्रेलियाका लागी पर्यटन दुत निल थपलिया लगायत पर्थका विभिन्न व्यक्तिहरु र आफन्तहरुले अन्तिम श्रद्धान्जली दिएका थिए ।