कविता “जन आबाज”
-सुदेश सत्याल
एक्लै हासिरहेर अर्थ छ र के देशै दुखेको भए
के होला शिर उच्च खै सगरमाथा नै झुकेको भए ।
जे जे होस् न निधरमा हरघडी यै मृत्तिका लाउला
गर्नेले उपहास नै गरिरहुन् राको लिदै आउला ।।
यस्तो सृष्टि गरेछ लौन कसले उल्टो बग्यो गण्डकी
पछ्याए पनि कालले जतिसुकै खोजौ नयाँ जिन्दगी ।
चड्ने चड्छ सधैं सधैं शिखरमै झर्ने झरे तापनि
बाच्नेले कति काम गर्नु छ यहाँ मर्ने मरे तापनि ।।
खै जल्दैन दरिद्र मानसिकता पुत्ला जलाए पनि
झन् आवाज बुलन्द हुन्छ बहुतै कर्फ्यू लगाए पनि ।
चुड्की एक बजाउदा नि अरबौ मौरी हरु आउछन्
तारा जून समान चम्चम गरी यो सृष्टि चम्काउछ्न ।।
पक्कै चित्र विचित्र हुन्छ भबमा उर्ल्यो भने सागर
आफै मालिक हुन् प्रजा जति सबै को छन् यहाँ नोकर ।
टुक्रिन्नन् कहिल्यै नि यी मुटु हरु संसार टुक्रे पनि
साढे डुक्रिरहन्छ उच्च स्वरले क्यै हुन्न डुक्रे पनि ।।
हो मौलाउनु पर्छ है लहलहै दूबो सरी जो पनि
पृथ्वी मा अधिकार हुन्छ उतिकै पुड्काहरुको पनि ।
झोक्राएर त्यसै त्यसै बसिरहे अस्तित्व क्वै लुट्दछ
अन्तर्चेत हरेकको यदि उठे धर्ती स्वतः उठ्दछ।।