पुस २४, २०७२- क्रिसमसलाई छेको बनाएर रिलिज भएको हलिउड फिल्म ‘द फोर्स अवेकन्स’ ले पछिल्ला सातादेखि बक्स अफिसमा कब्जा जमाइरहेको छ । स्टार वार्स फ्रेन्चाइजको पछिल्लो संस्करणलाई यतिबेला अल टाइम हिट ‘टाइटानिक’ र ‘अवतार’ सँगै जोडिएर हेर्न थालिएको छ । के ‘स्टार वार्स : द फोर्स अवेकन्स’ ले अल टाइम बक्स अफिसको टाइटल ‘अवतार’ बाट खोस्ला त ?
यतिबेला सबैको ध्यान फिल्मले कुन विन्दुसम्म गएर व्यापार टुंग्याउला भन्नेमा केन्द्रित छ । अहिले नै जेम्स क्यामेरुन ‘टाइटानिक’ लाई जितेर सर्वाधिक कलेक्सनको दोस्रो स्थानमा उक्लिसकेको छ । ‘द फोर्स अवेकन्स’ ले आइतबार नै घरेलु बक्स अफिसमा ७ सय ४० मिलियन डलरको कलेक्सन गरिसकेको छ । जबकि बीसौं शताब्दीको उत्कृष्ट मानिएको फिल्म ‘टाइटानिक’ ले ६ सय ५८ मिलियन डलरको व्यापार गर्न सकेको थियो ।
क्यामेरुनकै ‘अवतार’ लाई सात सय मिलियन डलर कमाउन ७२ दिन लागेको थियो । जबकि ‘द फोर्स अवेकन्स’ ले उक्त कमाइ गर्न मात्र १६ दिन कुर्नुपर्यो । फिल्म विज्ञहरू दुई सातामा फिल्मले गरेको उक्त व्यापारको रफ्तारलाई हेर्दा यसले ‘अवतार’ लाई उछिन्न धेरै दिन कुर्नु नपर्ने बताउन थालेका छन् । जबकि फिल्मको ओपनिङ केही धिमा देखिएको थियो ।
‘अवतार’ को ग्रस कलेक्सन ७ सय ६० मिलियन डलर मात्रै रहेकाले पनि त्यो विन्दु छुन स्टार वार्सको पछिल्लो फिल्मलाई अब केवल २० मिलियन डलर व्यापारको खाँचो छ । तर केही ‘अवतार’ का हिमायतीहरू भने बक्स अफिस च्याम्पियन केवल अंकगणितमा मात्रै नहेरी मुद्रास्फीतिलाई समेत आधार बनाएर मूल्यांकन गर्नुपर्ने राय पेस गर्छन् । यसो गर्दा ‘द फोर्स अवेकन्स’ ले ‘अवतार’ लाई जित्न नसक्ने तर्क उनीहरूको छ ।
अमेरिकी बक्स अफिसमा सर्वाधिक कमाइको रेकर्ड राख्दै गर्दा ‘द फोर्स अवेकन्स’ विश्व बजारमा भने ‘जुरासिक पार्क’ र ‘द एभेन्जर्स’ भन्दा पनि पछि छैटौं स्थानमा छ । नेपालमा जस्तै हलिउडमा पनि वर्षको अन्तिम साता फिल्म व्यापारका हिसाबले फलिफाप हुने मानिन्छ । बिग बजेट फिल्म क्रिसमस र न्यु इयरको बिदा सप्ताहलाई क्यास गर्ने गरी रिलिज गरिन्छ । ‘टाइटानिक’ र ‘अवतार’ पनि डिसेम्बर निक्लँदो रिलिज गरिएका थिए ।
संयोग, तीनै फिल्म जनवरीमा आएर मात्रै म्यासिभ सक्सेस भएका थिए । सन् १९७० बाट सुरु भएको स्टार वार्सको फिल्मी यात्राले यतिबेला आएर चरम सफलता पाएको छ । ‘द फोर्स अवेकन्स’ ले सफलताको स्वाद चाख्नुमा जेजे अब्राम्सजस्ता प्रशंसित निर्देशक भित्र्याउनु र ह्यारिस फोर्ड, क्यारी फिसर र मार्क ह्यामिलजस्ता ओरिजिनल कास्टको पुनरावृत्तिले पनि सत्तरी र असीको दशकको स्टार वार्सको गौरवमय दिनलाई फ्यानमाझ सम्झाइदिनु मान्न सकिन्छ ।
फिल्मले वर्ड अफ माउथ राम्रो पाउनुले पनि त्यसलाई सिद्ध गर्छ । विश्वभरबाट १ सय ५१ बिलियन डलर कलेक्सन गरिसकेको ‘द फोर्स अवेकन्स’ ले विश्वव्यापी बक्स अफिसमा सर्वाधिक छिटो एक बिलियन डलर कलेक्सन गर्ने रेकर्ड पनि आफ्नै नाममा लेखाउन सफल भएको छ ।
फिल्म जानकारहरू यतिबेला स्टार वार्स फ्रेन्चाइज फिल्मको बक्स अफिस गतिलाई भ्यागुतो उफ्राईको संज्ञा दिन थालेका छन् ।
विश्वव्यापी रूपमा छैटौं स्थानमा भए पनि ‘द एभेन्जर्स’ र ‘फ्युरिअस सेभेन’ लगभग बिट भइसकेका छन् भने तेस्रो स्थानमा रहेको ‘जुरासिक पार्क’ पनि १ सय ६६ बिलियन मात्रै छ । यो सप्ताहन्तसम्म ‘द फोर्स अवेकन्स’ को उफ्राई दोस्रोमा रहेको ‘टाइटानिक’ नजिक हुनेछ ।
http://bit.ly/1ZdYhYY